
काठमाडौं । गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार विशेष अदालतले दिएको सफाइको फैसला सदर गरेको हो। विशेष अदालतको उक्त फैसला करिब आठ वर्षपछि सर्वोच्चबाट समेत कायम भएको हो।
विशेष अदालतको फैसला बदर गर्न माग गर्दै नेपाल सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूमाथि अवैध गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, धम्की दिएर रकम असुल्ने तथा त्यसरी आर्जित सम्पत्तिलाई वैध देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाइएको थियो।
अभियोगपत्रअनुसार गुरुङले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। विभागले काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यहरूको नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित करिब ७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको दाबी गरेको थियो।
यसै मुद्दाका अर्का अभियुक्त राजीव गुरुङ ‘दीपक मनाङे’ भने २०७४ माघ १० गते नै विशेष अदालतबाट सफाइ पाइसकेका छन्। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीविरुद्धको मुद्दा भने अझै विचाराधीन रहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित