ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो ? सांसद यादवको प्रश्न, सरकारलाई जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको विषयमा प्रतिनिधिसभाका सांसद चन्द्रमोहन यादवले सरकारको जवाफ मागेका छन्। सांसद यादवको प्रश्नपछि सभामुख डोलप्रसाद अर्यालले यस विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना अन्यत्र सार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णय २०७७ मै भएको र आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत त्यसका लागि बजेट विनियोजन गरिएको बताए। तर, केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मधेश प्रदेशमा ट्रमा सेन्टर लहानमा निर्माण हुने बताएपछि योजना अन्यत्र सार्न खोजिएको आशंका उत्पन्न भएको उनले बताए।

‘धनुषाको ढल्केबरमा डेडिकेटेड ट्रमा सेन्टर बनाउने निर्णय २०७७ मै भएको हो। अहिलेको बजेटमा पनि मधेश प्रदेशमा ट्रमा सेन्टर बनाउने भनिएको छ। तर केही दिनअघि स्वास्थ्यमन्त्रीले ढल्केबरको नाम नलिई अन्यत्रै बनाउने भन्नुभयो,’ यादवले भने, ‘ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो, सभामुख महोदय?’

यादवका अनुसार मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस वडा नं. २ ‘क’ स्थित कित्ता नं. १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको थियो।

जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जासमेत बनिसकेको अवस्थामा शिलान्यासको तयारीमा रहेको योजना अन्यत्र सार्न खोजिएको भन्दै उनले आपत्ति जनाए। योजना अन्यत्र सार्न लागिएको विरोधमा स्थानीयस्तरमा समेत आन्दोलन सुरु भएको उनले बताए।

यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माण वैज्ञानिक तथा भौगोलिक दृष्टिले समेत आवश्यक रहेको दाबी गर्दै सरकारको निर्णय स्पष्ट नभएसम्म सदनमार्फत निरन्तर आवाज उठाउने बताए।

यादवले आफ्नो धारणा राखेपछि सभामुख अर्यालले सरकारलाई यस विषयमा सदनलाई जानकारी गराउन निर्देशन दिएका हुन्।

‘आजै सभामा माननीय सदस्य चन्द्रमोहन यादवले राख्नुभएको विषय के हो? यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु,’ सभामुख अर्यालले भने।

अब सरकारले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको योजना यथावत् रहेको वा लहानमा सारिएको विषयमा सदनलाई स्पष्ट जानकारी गराउनुपर्ने भएको छ।

प्रतिक्रिया

ताजा समाचार