
काठमाडौँ — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ। सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको आरोपमा उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो।
जिल्ला अदालत नवलपरासीका सूचना अधिकारी भेषराज खनालले यादवको नाममा पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
यादवविरुद्ध सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको आरोपमा भूआर्जन कार्यालय गण्डक योजना, वाल्मीकिनगरका भूआर्जन अधिकृत सोभित हलुवाईले इलाका प्रहरी कार्यालय बेलटारीमा जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले अनुसन्धानका लागि यादवलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।
यता, अध्यक्ष यादवले आफूविरुद्ध आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनाबारे आफूले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएका छन्।
प्रहरीले भने पक्राउ पुर्जी जारी भइसकेकाले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको जनाएको छ। आरोप पुष्टि भएमा कानुनी प्रक्रिया अघि बढ्नेछ भने अनुसन्धानको क्रममा आरोप प्रमाणित नभएमा त्यसअनुसार प्रक्रिया अघि बढ्नेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित