
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा सहभागी १ हजार १३ परीक्षार्थीमध्ये ९ सय ४७ जना उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार ६५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने १ जना अनुपस्थित रहे। परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।
देशगत नतिजाअनुसार नेपालका मेडिकल तथा डेन्टल कलेजमा अध्ययन गरेका परीक्षार्थीको सफलता दर सबैभन्दा उच्च देखिएको छ। नेपालमा अध्ययन गरेका ९ सय १९ परीक्षार्थीमध्ये ९ सय ४ जना अर्थात् ९८.३७ प्रतिशत उत्तीर्ण भएका छन्।
यस्तै, पाकिस्तान र अमेरिकाबाट अध्ययन गरी परीक्षामा सहभागी भएका सबै परीक्षार्थी उत्तीर्ण भएका छन्। भारतबाट सहभागी १७ जनामध्ये १३ जना अर्थात् ७६.४७ प्रतिशत उत्तीर्ण भएका छन्।
चीनमा अध्ययन गरेका ३७ परीक्षार्थीमध्ये ८ जना अर्थात् २१.६२ प्रतिशत उत्तीर्ण भएका छन्। बेलारुसबाट सहभागी १ जना परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्।
नेपालभित्रका शिक्षण संस्थाको नतिजा हेर्दा अधिकांश कलेज तथा प्रतिष्ठानको प्रदर्शन राम्रो देखिएको छ। काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, नेपाल मेडिकल कलेज र नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेससहित १४ वटा कलेजका सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।
महाराजगञ्ज मेडिकल क्याम्पसका ८६ परीक्षार्थीमध्ये ८४ जना अर्थात् ९७.६७ प्रतिशत र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय २ परीक्षार्थीमध्ये ९८ जना अर्थात् ९६.०८ प्रतिशत उत्तीर्ण भएका छन्।
विषयगत नतिजातर्फ कुल ३६ विषयमा परीक्षा सञ्चालन गरिएको थियो। काउन्सिलका अनुसार अधिकांश विषयमा परीक्षार्थीको नतिजा सकारात्मक आएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित