सीसँग भेट नभए चीन नजाने अडानमा रवि, भ्रमण अनिश्चित

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण अनिश्चित बनेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको पहलमा साउनको अन्तिम वा भदौको पहिलो साता भ्रमण गराउने तयारी भए पनि मिति, भेटवार्ता र कार्यसूची टुंगो लाग्न सकेको छैन।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार लामिछानेको चीन भ्रमणबारे दुवै पक्षबीच छलफल भइरहेको छ। तर भ्रमणको मिति, कति दिनको हुने तथा भ्रमणमा को–को सहभागी हुने भन्ने विषयमा अहिलेसम्म निर्णय भएको छैन।

लामिछाने र महामन्त्री आचार्यबीच बिहीबार भएको छलफलमा भ्रमणको तयारीलगायतका विषयमा कुराकानी भएको थियो।

‘सभापतिको चीन भ्रमणको विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ, तर भ्रमणको मिति र भेटघाटको कार्यसूची तय भएको छैन,’ आचार्यले भने, ‘यी सबै कुरा सुनिश्चित भएपछि जानकारी गराउँला।’

रास्वपाका विदेश विभागका पूर्वप्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री शिशिर खनालले पनि लामिछानेको चीन भ्रमणबारे पार्टीले औपचारिक जानकारी सार्वजनिक नगरेको बताए।

चिनियाँ पक्षले पनि भ्रमणको पहल भइरहेको र रास्वपा तथा चिनियाँ कम्युनिस्ट पार्टीबीचको समन्वयमा मिति तय हुने जनाएको छ।

सीसँग भेटवार्ताको अपेक्षा

स्रोतका अनुसार लामिछानेले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुनुपर्ने अडान राखेका छन्। भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भएकाले चीनमा पनि त्यही स्तरको भेटवार्ता हुनुपर्ने उनको धारणा रहेको बताइएको छ।

रास्वपाका महामन्त्री आचार्यले पनि पार्टी सभापतिले उच्चस्तरीय भेटवार्ताको अपेक्षा राख्नु स्वाभाविक भएको बताए।

‘रुलिङ पार्टीको सभापति भएकाले उच्चस्तरीय भ्रमणको अपेक्षा राख्नु स्वाभाविक हो। भारतमा उच्चस्तरीय भेटवार्ता गरेर आएका छौँ। सोही स्तरको भ्रमण चीनमा पनि होस् भन्ने पार्टीको अपेक्षा छ,’ उनले भने।

लामिछानेले यसअघि जेठ १८ देखि २२ गतेसम्म भारतको भ्रमण गरेका थिए। उनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गरेको थियो।

रास्वपाले भारतसँग भएको उच्चस्तरीय भेटवार्तालाई आधार बनाउँदै चीन भ्रमणमा पनि त्यस्तै तहको राजनीतिक संवाद हुनुपर्ने अपेक्षा राखेको देखिन्छ।

सीले नेपाली नेतामध्ये प्रचण्डसँग मात्र भेट गरेका छन्

यद्यपि, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिनफिङले नेपालका राजनीतिक नेतामध्ये पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाहेक अन्य नेतासँग पार्टी प्रमुखको हैसियतमा भेटवार्ता नगरेको बताइएको छ।

यसकारण लामिछानेको चीन भ्रमण तय भए पनि राष्ट्रपति सीसँग भेटवार्ता हुने विषय भने अझै स्पष्ट भइसकेको छैन। भ्रमणको मिति र उच्चस्तरीय भेटवार्ताको टुंगो लागेपछि मात्रै लामिछानेको चीन भ्रमणको स्वरूप स्पष्ट हुने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार