
काठमाडौं । विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा प्रहरीले छापा हानेको घटनामा सूचना विश्लेषण तथा भेरिफाइमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले स्वीकार गरेको छ।
यसअघि प्रहरीले व्यवसायी गोपाल मुदण्डाको विराटनगरस्थित घरमा करिब पाँच घण्टा छापा मारेको थियो। तर छापा मार्दा प्रहरीले खोजेको भनिएको सामग्री फेला नपरेपछि टोली रित्तो हात फर्किएको थियो। घटनापछि छापा मार्नुअघि प्राप्त सूचनाको विश्वसनीयता र त्यसको विश्लेषणमाथि प्रश्न उठेको थियो। यही विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालसँग प्रहरी प्रधान कार्यालयले स्पष्टीकरणसमेत मागेको थियो।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले छापा मार्नुअघि प्राप्त सूचनाको पर्याप्त विश्लेषण र भेरिफाइ नभएको बताएका हुन्।
‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो, त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने।
मुदण्डाको घरमा प्रहरीले छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग समेत स्पष्टीकरण सोधिएको थियो।
प्रहरी प्रधान कार्यालयले छापा मार्नुको कारणसहित लिखित जवाफ पेस गर्न एसपी कटवाललाई निर्देशन दिएको थियो।
सूचनाको पर्याप्त पुष्टि नगरी छापा मारिएको विषयमा प्रहरीकै उच्च तहबाट कमजोरी स्वीकार गरिएपछि घटनाबारे प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित