पक्राउ नगरे आत्मदाह गर्ने हलुवाईको चेतावनी, यादवलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पश्चिम नवलपरासी । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ नगरे आत्मदाह गर्ने चेतावनी सम्पर्क तथा भूआर्जन कार्यालय गण्डक योजना, वाल्मीकिनगरका नेपालतर्फका भूआर्जन अधिकृत सोभित हलुवाईले दिएका छन्। तर, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यादवलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

हलुवाईले आज साँझ ५ बजे बुद्धचोकमा आत्मदाह गर्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उच्च अदालतद्वारा निषेधाज्ञा जारी नभएको हुँदा पालिका प्रमुखलाई आज प्रहरीले पक्राउ गरेन भने बुद्धचोकमा पाँच बजे आत्मदाह गर्छु। पत्रकार साथीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।’

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले हलुवाईसँग समन्वय भइरहेको बताए।

उनले भने, ‘हामीले पनि स्ट्याटस हेर्‍यौँ। उहाँसँग कुरा भइरहेको छ।’

यादवविरुद्ध कीर्तेको जाहेरी

हलुवाईले प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलटारीमा गत जेठ ६ गते जाहेरी दिएका थिए।

हलुवाईका अनुसार यादवले कीर्ते सम्झौता पत्र तयार गरी गण्डक योजनाअन्तर्गतको जग्गा भोगचलन गर्दै आएका छन्। उक्त जग्गामा पोखरी निर्माण गरी माछापालन गर्न कृषि विकास बैंक, बर्दघाट शाखाबाट कृषि ऋण तथा अनुदान लिएको आरोपसमेत हलुवाईले लगाएका छन्।

यसै प्रकरणमा जिल्ला अदालत पश्चिम नवलपरासीले तीन दिनअघि यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर यादव पक्राउ नपरेपछि प्रहरीले उनलाई संरक्षण गरेको हुन सक्ने आशंका व्यक्त गरिएको थियो।

उच्च अदालतको आदेशपछि पक्राउ रोकियो

यता, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यादवलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश सानुमैया डंगोलको इजलासले यादवले इलाका प्रहरी कार्यालय बेलटारीलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले साउन २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै त्यस अवधिसम्म यादवलाई पक्राउ नगर्न, थुनामा नराख्न तथा कुनै कागज गराउन नहुने आदेश दिएको छ।

अदालतको आदेशमा भनिएको छ, ‘सो छलफल अवधिसम्म यी निवेदकलाई पक्राउ गर्ने, थुनामा राख्ने, कागज गराउनेजस्ता कुनै कार्य नगर्नु नगराउनु भनी विपक्षी नम्बर १ र २ का नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

उच्च अदालतको आदेशसँगै यादवलाई तत्काल पक्राउ गर्ने प्रक्रिया रोकिएको छ। तर, यहीबीच हलुवाईले आत्मदाहको चेतावनी दिएपछि घटनाले थप गम्भीर रूप लिएको छ। प्रहरीले हलुवाईसँग समन्वय गरी उनको चेतावनी रोक्न पहल भइरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार