तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर जंगलमा मृत फेला

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत फेला परेका छन्।

उनी शुक्रबारदेखि जंगलमा हराइरहेका थिए। जंगलको बीचमा उनले चढ्ने मोटरसाइकल भेटिए पनि उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको शव आइतबार जंगलमा फेला परेको जानकारी दिए।

‘हाम्रो खोजी अभियानमा रहेको टोलीले सिंहको शव भेटाएको जानकारी गराएको छ। अन्य विवरण जुटाउँदैछौं,’ उनले भने।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। त्यसको करिब डेढ घण्टापछि उनले आफू निकटका केही व्यक्तिलाई फोन गरेर ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए।

त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किएको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।

मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेपछि प्रहरीले स्थानीय र आफन्तको सहयोगमा खोजी अभियान जारी राखेको थियो। आइतबार खोजीमा खटिएको टोलीले उनको शव फेला पारेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार