
काठमाडौं । गत बुधबार साँझ सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परे पनि श्रीमान्को अवस्था अझै अज्ञात रहेको छ। श्रीमान्को शव फेला नपरेपछि कुशको शव बनाएर आज दुवै जनाको दाहसंस्कार गर्न लागिएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीको दाहसंस्कार गर्न लागिएको हो।
मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार केदारनाथको शव फेला नपरेपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको हो।
तिलकुमारीको शव भने आइतबार ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। आफन्तले शवको सनाखत गरेपछि परिवारका सदस्यहरूले ओखलढुंगा पुगेर शव काभ्रे ल्याएका थिए।
केदारनाथको शव भेटिने सम्भावना नरहेपछि दुवै जनाको एउटै चितामा दाहसंस्कार गर्न लागिएको वडाध्यक्ष पौडेलले बताए। उनीहरूको दाहसंस्कार मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावतीमा हिन्दू परम्पराअनुसार भइरहेको छ।
पराजुली दम्पती गत बुधबार काभ्रेकै भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका थिए। केदारनाथले श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीतर्फ गएको बताइएको छ।
घटनापछि उनीहरूको खोजी गर्ने क्रममा तिलकुमारीको शव ओखलढुंगास्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। केदारनाथको भने अवस्था अझै अज्ञात छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित