ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो

काठमाडौं । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ।

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।

उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ।

साउन १४ गते ब्रड पिकमा गएको हिमपहिरोमा परी उनीहरूसहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पासहित ६ नेपाली र अन्य चार जनाको मृत्यु भएको थियो।

पुरबहादुर गुरुङ ‘युक्ता’को शव साउन २१ गते नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो। निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने जनाइएको छ।

नवाङ थिन्डु शेर्पाको शव भने भौगोलिक कठिनाइका कारण अझै संकलन हुन सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार