
काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई बुधबार राति पक्राउ गरी उनको निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार बिहान जनआस्था कार्यालयमा हातहतियारसहित प्रवेश गरी विभिन्न सामग्री जफत गरिएको घटनाबारे ध्यानाकर्षण भएको जनाएको हो।
काउन्सिलले नागरिकको सूचनाको हक प्रेस स्वतन्त्रतामार्फत प्रत्याभूत हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबै पक्षको जिम्मेवारी भएको उल्लेख गरेको छ।
साथै, पत्रकार तथा सञ्चारमाध्यमले पनि प्रेस स्वतन्त्रताको प्रयोग गर्दा पेसागत मर्यादा र आचारसंहिता पालना गर्नुपर्नेमा काउन्सिलले जोड दिएको छ। प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नहुने भन्दै काउन्सिलले सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ।
काउन्सिलले सञ्चारमाध्यम तथा पत्रकारविरुद्ध आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी लिनेदेखि आवश्यक कारबाही र मेलमिलापसम्मका काम गर्दै आएको जनाएको छ।
आचारसंहिता उल्लङ्घन भएको अवस्थामा खण्डन प्रकाशन वा प्रसारण, भूलसुधार तथा क्षमायाचनाका लागि निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउने तथा सञ्चारमाध्यमलाई वर्गीकरण प्रक्रियाबाट अलग गर्नेलगायतका कारबाही गर्न सकिने काउन्सिलले जनाएको छ।
त्यस्तै, लोककल्याणकारी विज्ञापन तथा अन्य सुविधाबाट वञ्चित गर्न वा सूचीकरणबाट हटाउन, प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन तथा सरकारी विज्ञापन वा सुविधाबाट निश्चित अवधिका लागि वञ्चित गर्न सिफारिस गर्न सक्ने व्यवस्था रहेको काउन्सिलले जनाएको छ।
गम्भीर आचारसंहिता उल्लङ्घन भए पत्रकार वा सञ्चारमाध्यममाथि थप कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ तथा सम्बन्धित सञ्चार संस्थालाई सिफारिस गर्न सकिने काउन्सिलले जनाएको छ। काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम वा पत्रकारलाई कालोसूचीमा राखी कारबाही विवरण सार्वजनिक गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले कुनै समाचारप्रति चित्त नबुझेमा सम्बन्धित पक्षलाई कानुनी प्रक्रियाअनुसार काउन्सिलमा उजुरी गर्न आग्रह गरेको छ। पत्रकार तथा सञ्चारमाध्यमको पेसागत आचरण र प्रेस स्वतन्त्रताको दुरुपयोग दुवै पक्षबाट आफूले अनुगमन गर्दै आएको काउन्सिलको भनाइ छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित