प्रहरी हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई बिहीबार रिट दायर गरेका हुन्। रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ।

निवेदकले प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिको अनुसन्धान गर्ने सरकारी निकायका भवनका कुनै पनि भाग नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन्।

रिटमा रातको समयमा समेत स्पष्ट देखिने, अडियो र भिडियो दुवै रेकर्ड हुने प्रविधि जडान गरी त्यसको अभिलेख कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न परमादेश माग गरिएको छ।

त्यस्तै, पक्राउ परेको समयदेखि नै डिजिटल अभिलेख राख्ने गरी देशभर लागू हुने एकीकृत मापदण्ड निर्माण गर्न पनि माग गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार