
काठमाडौँ। रोल्पाको थबाङ गाउँपालिका–५ उवाअन्तर्गत कोटलबारामा बुधबार राति गएको पहिरोमा परी हालसम्म १० जनाको शव भेटिएको छ। तीमध्ये ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। अझै ५ जना सम्पर्कविहीन छन्।
पहिरोमा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ। घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर छन्।
बुधबार राति परेको अविरल वर्षासँगै लेदो, ठूला ढुंगा तथा मुढासहित आएको पहिरोले कोटलबाराको बस्तीका ९ वटा घर, १ वटा घुम्ती किराना पसल, २ वटा गोठ र १ वटा चर्च पुरेर बगाएको थियो। घटनामा ठूलो मानवीय क्षति भएको छ।
घटनास्थलमा खटिएका रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुका अनुसार मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ उवा, कोटलबाराका १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर, ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ५ वर्षीय अशोक पुन मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार अझै ५ जना बेपत्ता छन्। बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लीलबहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्।
घटनापछि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खोज तथा उद्धारमा खटिएको छ। लगातार पानी परिरहेको तथा दुई स्थानमा पुनः पहिरो गएर बाटो अवरुद्ध भएकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
पहिरो गएको समयदेखि नै घटनास्थलमा खोज तथा उद्धार कार्य जारी छ। यसै क्रममा प्युठानको माडीखोलाका विभिन्न स्थानमा ५ जनाको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ।
तीमध्ये ३ वटा शवको पहिचान ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ५ वर्षीय अशोक पुन मगरका रूपमा खुलेको छ। बाँकी २ शवको पहिचान हुन सकेको छैन।
उक्त शवहरू उवाको कोटलबारामा पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाप्रति लुम्बिनी प्रदेश सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले लगायतले दुःख व्यक्त गर्दै तत्काल खोज, उद्धार तथा राहतको काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित