
काठमाडौं । वरिष्ठ सञ्चारकर्मी तथा नेपाल मल्टिभिजन प्रा.लि.का अध्यक्ष हरिशरण लामिछानेलाई ‘एनएलडीसी साहित्य–सञ्चार पुरस्कार पदक–२०२६’ प्रदान गरिएको छ।
नेपाली साहित्य विकास परिषद् यूकेले साहित्य, भाषा, कला तथा पत्रकारिता क्षेत्रमा लामिछानेले पुर्याएको योगदानको कदर गर्दै उहाँलाई नेपाली साहित्य सञ्चार पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेको हो।

लामिछानेले तीन दशकभन्दा लामो समयदेखि सञ्चार तथा पत्रकारिता क्षेत्रमा सक्रिय रही नेपाली भाषा, साहित्य र सञ्चारको विकासमा योगदान पुर्याउँदै आउनुभएको छ। उहाँ रेडियो नेपालका मुख्य समाचार सम्पादक तथा प्रसारकका रूपमा समेत कार्यरत रहनुभएको थियो।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्य विकास परिषद् यूकेले प्रदान गरेकाे उक्त पुरस्कार नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकाे संयोजनामा लामिछानेलाई पुरस्कार पदक तथा प्रमाणपत्र प्रदान गरिएको हो।

पुरस्कार पदकमा ५० ग्राम शुद्ध चाँदी तथा स्वर्णाक्षर रहेको छ। प्रमाणपत्रमा नगद पुरस्कार लिन चाहेमा ५० हजार रुपैयाँ प्रदान गर्न सकिने उल्लेख छ।
लामिछाने नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको स्थापनाकाल सन् २०१४ देखि लगातार तीन कार्यकाल महासचिवका रूपमा कार्यरत रहनुभएको थियो। हाल उहाँ परिषद्को सल्लाहकारका रूपमा रहनुभएको छ।
कार्यक्रममा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका अध्यक्ष इल्या भट्टराई, वरिष्ठ साहित्यकार गोपाल पराजुली, नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक अध्यक्ष सुरेशजंग साह, महासचिव वीरेन्द्र कुँवर,कोषाध्यक्ष राजेशजंग साह, सल्लाहकार डा। नारायण चालिसे लगायतको उपस्थिति थियो।
परिषद्ले लामिछानेको साहित्य, सञ्चार तथा पत्रकारिता क्षेत्रमा रहेको दीर्घ योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जनाएको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित