किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार (भदौ १ गते) अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप म्याद मागेको थियो ।

श्रेष्ठलाई गत साउन २७ गते पक्राउ गरिएको थियो । उनको थुनामुक्तिको माग गर्दै पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यसअघि साउन २९ गते सर्वोच्च अदालतले श्रेष्ठ र बरामद गरिएका सामानसहित उनलाई भदौ १ गते सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ गरी हाल महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार