
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो ।
जनआस्था अनलाइनमा प्रकाशित समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको आरोपमा प्रहरीले श्रेष्ठलाई गत साउन २७ गते पक्राउ गरेको थियो । त्यसयता उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
सर्वोच्चको आदेशमा श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्बिर जाहेरवालाले स्वयं सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको उल्लेख छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित