फुङलिङ मेयरका स्वकीयमाथि नाबालिग बलात्कारको मुद्दा : सरकारी बाइकमा कन्याम घुमाउँदै काठमाडौं ल्याएर पाँच दिनसम्म जबर्जस्ती करणी

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयरका स्वकीय सचिव अञ्चल गुरुङविरुद्ध १७ वर्षीया किशोरीलाई काठमाडौं ल्याएर बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ४० वर्षीय गुरुङविरुद्ध १० देखि १२ वर्षसम्म कैद, ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउन माग गर्दै अभियोगपत्र दायर गरेको हो।

अभियोगपत्रअनुसार गुरुङले असार ३१ गते नगरपालिकाको सरकारी मोटरसाइकलमा किशोरीलाई ताप्लेजुङबाट काठमाडौं ल्याएका थिए। पाँचथरको पौवा र इलामको कन्याम हुँदै झापाको बिर्तामोड पुगेपछि उनीहरू बसमार्फत काठमाडौं आएका थिए।

साउन २ गते काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा कोठा लिएर गुरुङले किशोरीलाई पाँच दिनसम्म त्यहीँ राखेको अभियोगपत्रमा उल्लेख छ। किशोरीले घर फर्कन खोज्दा ज्यान मार्ने तथा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ।

साउन ६ गते नागढुंगा चेकपोस्टमा माइती नेपालका कर्मचारीले किशोरीलाई शंकास्पद अवस्थामा फेला पारेपछि प्रहरीको जिम्मा लगाएका थिए। त्यसक्रममा किशोरीले आफूलाई गुरुङले ललाईफकाई काठमाडौं ल्याएर बलात्कार गरेको बताएकी थिइन्।

गुरुङले प्रहरीसमक्ष किशोरीलाई काठमाडौं ल्याएको र एउटै होटलमा बसेको स्वीकार गरे पनि बलात्कारको आरोप अस्वीकार गरेका छन्। तर, होटल कर्मचारीको बयान, सीसीटीभी फुटेज र स्वास्थ्य परीक्षणबाट प्राप्त प्रमाणले उनको दाबी खण्डन गरेको अभियोगपत्रमा उल्लेख छ।

किशोरीको उमेर १७ वर्ष ९ महिना रहेको जन्मदर्ता प्रमाणका आधारमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिम मुद्दा चलाइएको हो। अभियोग पुष्टि भए १० देखि १२ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

गुरुङ हाल प्रहरी हिरासतमा छन् भने काठमाडौं जिल्ला अदालतमा मुद्दाको थप प्रक्रिया अघि बढिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार