मकवानपुर जिप दुर्घटनामा न्यायाधीशसहित चार घाइते काठमाडौं पठाइए

हेटौँडा — मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको स्कार्पियो दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–००२ झ ५१८३ नम्बरको स्कार्पियो सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा मुख्य न्यायाधीश डाँगीसहित छ जना घाइते भएका थिए।

घाइते हुनेमा दाङ तुलसीपुर–९ का ५७ वर्षीय डाँगी, बैतडी दशरथचन्द–७ का रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु, दिदी ३१ वर्षीया रिता बडु र जिप चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी रहेका छन्।

घाइतेमध्ये रजिष्ट्रार बडु र चालक चौधरीलाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। अन्य चार जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार