सहमतिमा होटल बसेका सईलाई समातेर भिडिओ भाइरल गराउने युवाको खोजीमा प्रहरी

धुलिखेल । काभ्रेको भकुण्डेबेसीस्थित प्रहरी चौकीका इञ्चार्ज (प्रहरी नायब निरीक्षक/सई) गणेश श्रेष्ठ र एक युवतीबीचको व्यक्तिगत मामिलामा हस्तक्षेप गरी भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवाहरूको प्रहरीले खोजी सुरु गरेको छ।

आइतबार राति नमोबुद्ध बजारस्थित एक होटलमा पूर्वम्यादी प्रहरी महिलासँग रहेका सई श्रेष्ठलाई केही स्थानीय युवाहरूले ‘रङ्गेहात भेटिएको’ भन्दै नियन्त्रणमा लिएका थिए। विवाहित सई र अविवाहित युवती आपसी सहमतिमा होटलमा बसेको भए पनि युवाहरूले मध्यरातमा कोठाभित्रै छिरेर उनीहरूको भिडिओ खिचेका थिए।

उक्त भिडिओ सामाजिक सञ्जालमा हालेपछि व्यक्तिगत गोपनीयताको हक उल्लंघन भएको भन्दै व्यापक आलोचना भइरहेको छ। घटनापछि भिडिओ खिच्ने र पक्राउ गर्ने कार्यमा संलग्न युवाहरू फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविन कार्कीका अनुसार कुनै पनि महिला र पुरुष आपसी सहमतिमा होटलमा बस्नु उनीहरूको व्यक्तिगत विषय भएकाले सर्वसाधारणले छापा मार्ने वा पक्राउ गर्ने अधिकार राख्दैनन्।

“सहमतिमा बसेका व्यक्तिको निजी मामिलामा हस्तक्षेप गरी वैयक्तिक गोपनीयता भङ्ग गर्नेहरूमाथि कानुनी कारबाही हुन्छ,” एसपी कार्कीले भने, “संलग्न व्यक्तिहरूको खोजीका साथै प्रमाण सङ्कलन भइरहेको छ।”

पाँचखाल घर भएकी युवतीलाई सामान्य सोधपुछपछि छाडिएको छ।

यसैबीच, कार्यक्षेत्रभित्रै गैरप्रहरी आचरण प्रदर्शन गरेको भन्दै सई श्रेष्ठमाथि पनि विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको छ। ड्युटी समय बाहिर र सहमतिमा भएको घटना भए पनि यसले प्रहरी संगठनको सम्मान र विश्वसनीयतामा असर परेको प्रहरीको ठहर छ।

प्रहरी स्रोतका अनुसार सई श्रेष्ठले नदी आसपासका क्षेत्रबाट घर निर्माणका लागि सामग्री ओसारपसारमा कडाइ गरेपछि केही स्थानीय युवाहरू उनीप्रति रुष्ट थिए। सोही रिस फेर्न उनीहरूले सईको व्यक्तिगत जीवनमा हस्तक्षेप गरी भिडिओ भाइरल गराएको अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार