हेटौंडामा खोला तर्ने क्रममा चार बालिका बगे, एकको मृत्यु, दुई बेपत्ता

मकवानपुर। हेटौंडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले चार बालिकालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक जना बालिका भने सामान्य घाइते अवस्थामा उद्धार भएकी छन्।

निर्मल माध्यमिक विद्यालय, बस्तिपुरबाट घर फर्किने क्रममा मंगलबार साँझ खोला तर्न खोज्दा उनीहरू बाढीको बहावमा परेका हुन्।

उद्धार भएकी १३ वर्षीया सीमा भोलनका अनुसार चारै जना हात समातेर खोला पार गरिरहेका थिए। पानीको बहाव बढेपछि सबैभन्दा कम उमेरकी ८ वर्षीया रोसनी स्याङ्ताङलाई खोलाले बगाएको थियो।

हेटौंडा–१९ बस्तिपुर निवासी दिप स्याङ्ताङकी छोरी रोसनीलाई बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो। उनलाई तत्काल हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

१३ वर्षीया सीमा भोलन भने आफैं खोलाबाट निस्कन सफल भएकी थिइन्। उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी बेपत्ता बालिकाहरूको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार