
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूलाई पद र राजनीतिलाई अवसरका रूपमा मात्र नलिई गम्भीरतापूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले सीमित समय राजनीति गरेर पदबाट बिदा हुने मानसिकता भए आफूले फूलमाला लगाएर बिदा गरिदिने चेतावनीसमेत दिएका छन् ।
बुधबार सिंहदरबारमा पार्टीका मन्त्री तथा संघीय सांसदहरूसँग भएको छलफलमा लामिछानेले सरकारको कार्यशैली आगामी दिनमा थप प्रभावकारी बनाउने आवश्यकता औंल्याउँदै मन्त्रीहरू तत्काल परिवर्तन गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका हुन् ।
बैठकमा उनले मन्त्री र सांसदहरूलाई आफ्नो जिम्मेवारी, व्यवहार तथा कार्यशैलीप्रति गम्भीर बन्न आग्रह गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार लामिछानेले भनेका थिए, ‘राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदा गरिदिन्छु । लगानीबिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न।’
उनले मन्त्रीहरूको काम–कारबाहीबारे सांसदहरूलाई कुनै प्रश्न वा असन्तुष्टि भए सम्बन्धित मन्त्रीलाई सिधै प्रश्न गर्न र आफूलाई समेत बोधार्थ दिन निर्देशन दिएका छन् । यसबाट सरकार सञ्चालनमा आन्तरिक संवाद र जवाफदेहिता बढाउन खोजिएको उनको भनाइ थियो ।
पछिल्लो समय प्रधानमन्त्री बालेन शाह र सभापति लामिछानेबीचको भेटपछि केही मन्त्री फेरबदल हुने चर्चा चले पनि लामिछानेले तत्काल त्यस्तो तयारी नरहेको स्पष्ट पारेका छन् ।
सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्रीहरूले धेरै काम गरिरहेको भए पनि केही विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए । उनले रास्वपा आफ्नै मन्त्रीका काममाथि पनि प्रश्न सुन्ने पार्टी भएको उल्लेख गर्दै छलफल त्यसैका लागि आयोजना गरिएको स्पष्ट पारे ।
‘अहिले नै मन्त्री फेर्ने कुरा छैन । तयारी छैन । पार्टीमा झगडा पनि छैन,’ उनले भने ।
प्रधानमन्त्री बालेन शाहले केही समयअघि सामाजिक सञ्जालमा ‘एक्लै लड्नुपर्छ’ भन्ने आशयको स्ट्याटस लेखेको विषयमा पत्रकारले प्रश्न गर्दा लामिछानेले त्यसलाई राजनीतिक विवादको रूपमा नबुझ्न आग्रह गरे ।
उनले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक अभिव्यक्तिको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको बताए । पार्टीका सांसद र मन्त्रीहरू साथमा रहेकाले प्रधानमन्त्री एक्लो नरहेको उनको दाबी थियो ।
लामिछानेले रास्वपाका सांसद तथा मन्त्रीहरूलाई संसदीय मर्यादा कायम राख्दै पारदर्शी ढंगले काम गर्न पनि निर्देशन दिएका छन् ।
संसदमा बोल्ने विषय, सरकारी तथा व्यक्तिगत भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्नेमा उनले जोड दिएका थिए । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार तथा सार्वजनिक गतिविधिमा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।
केही दिनअघि कोरम नपुगेर संसद बैठक प्रभावित भएको प्रसंगमा उनले संसदमा नियमित उपस्थिति अनिवार्य रहेको बताएका थिए ।
‘सदनमा हामी नियमित हुनैपर्छ । संसद नियमावली आफैं बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुँदैन,’ लामिछानेले भने ।
उनले सांसद र मन्त्रीलाई अमर्यादित गतिविधिबाट टाढा रहन, घमण्ड त्याग्न तथा आपसी समन्वय र संवादमार्फत काम गर्न आग्रह गरेका छन् ।
जनताले भाषण र प्रचारभन्दा कामको परिणाम खोजिरहेको भन्दै लामिछानेले मन्त्री तथा सांसदहरूलाई अध्ययन, सिकाइ र परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिएका छन् ।
सांसदहरूले आफूले गर्न मिल्ने र नमिल्ने काम, संसदमा प्रस्तुत हुने तरिका तथा सरकार र जनतासँगको सम्बन्धबारे निरन्तर अध्ययन गर्नुपर्ने उनले बताएका छन् ।
त्यस्तै, उनले पार्टीको ‘आरएसपी पल्स’ एपमा मन्त्री तथा सांसदहरूले आफ्ना गतिविधि नियमित रूपमा अद्यावधिक गर्न पनि निर्देशन दिएका छन् ।
पार्टीको केन्द्रीय समिति तथा पदाधिकारी थप गर्ने विषयमा लामिछानेले विधानअनुसार योग्य व्यक्तिलाई क्रमशः जिम्मेवारी दिइने बताए । उनले पार्टीभित्र कुनै गुट वा पक्षले नाम सिफारिस गर्ने शैली नरहेको दाबी गर्दै योग्यताका आधारमा मनोनयन हुने बताएका छन् ।
प्रधानमन्त्री तथा पार्टी संसदीय दलका नेता बालेन शाहसहित छिट्टै दलको बैठक बस्ने जानकारी पनि लामिछानेले दिएका छन् । उनले बुधबारको छलफल सभापति र सांसदबीचको आन्तरिक छलफल मात्र भएको र दलको बैठकमा दलका नेता सहभागी हुनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् ।
लामिछानेले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा कहिलेकाहीँ व्यक्तिगत अभिव्यक्ति विवादमा पर्न सक्ने भए पनि त्यस्ता विषयलाई पार्टीभित्रै सम्हालिने बताए । आगामी दिनमा सरकार, पार्टी र सांसदबीचको समन्वय थप मजबुत बनाउँदै जनताका प्रश्नलाई परिणाममार्फत सम्बोधन गर्ने उनको जोड थियो ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित