सप्तरी घटना : सौतेनी विवादमा २ वर्षीया बालिकाको हत्या

काठमाडौं । सप्तरीमा घरबाट हराएको दुई घण्टामै २ वर्षीया बालिका मृत फेला परेकी छन् । प्रारम्भिक प्रहरी अनुसन्धानले बालिकाको हत्या उनकै सौतेनी आमाले गरेको देखाएको छ ।

शम्भुनाथ नगरपालिका–३ का मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएकी थिइन् । खोजीका क्रममा घर पछाडिको झाडीमा उनको शव फेला परेको हो । प्रहरीले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताएका छन् । मुस्कान मृतक बालिकाकी सौतेनी आमा हुन् ।

प्रहरीका अनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच लामो समयदेखि विवाद रहेको थियो । स्थानीयका अनुसार शनिबार पनि दुई महिलाबीच सौता बनेर आएको विषयमा विवाद भएको थियो । सम्पत्तिको हकदार को हुने भन्ने विषयमा समेत उनीहरूबीच विवाद रहेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ ।

मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । पुर्ख्यौली घरमा जेठी पत्नी र बालिका बस्दै आएका थिए भने कान्छी पत्नी सोही क्षेत्रनजिकै डेरा लिएर बस्दै आएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानमा मुस्कानको संलग्नता देखिएको एसपी खड्काले बताएका छन् । ‘घाउचोट देखिँदैन, हत्यामा एक जनाको मात्रै संलग्नता देखिन्छ,’ उनले भने ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो । घटनाको विरोधमा स्थानीयले आइतबार केही समय रुपनी बजार बन्द गराएका थिए । अहिले बजार तथा राजमार्गको अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

बारामा ३ वर्षीया गरिमाको हत्या

यसअघि भदौ २ गते बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी थिइन् । साउन ३१ गतेदेखि हराएकी गरिमाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

बालिका हराएको जानकारी गराउँदा पनि प्रहरीले खोजी तथा अनुसन्धानमा बेवास्ता गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन डीएसपी दिलीप क्षेत्रीलाई हटाइएको थियो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयले डीएसपी दयाकृष्ण भट्टलाई पठाएको छ ।

गरिमाको बलात्कार तथा हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

घटनापछि गरिमाको परिवार र सरकारबीच शनिबार गृह मन्त्रालयमा सहमति भएको छ । सहमतिअनुसार सिमरामा गरिमाको सालिक निर्माणका लागि पहल गर्ने तथा नागरिकको अपेक्षाअनुसार कानुन संशोधन गर्न सुझावसहितको प्रतिवेदन तयार पार्ने गरी ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने सहमति भएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सुमन थापाले चकलेट दिएर बालिकालाई फकाउँदै घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको खुलेको छ । उनी ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेको तथा पक्राउ परेका अर्का आरोपी प्रोग्रेस चौधरी उक्त म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार