बारा । बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ । सरकार र गरिमाका परिवारबीच शनिबार मध्यराति सहमति भएपछि परिवारले अस्पतालमा राखिएको शव बुझेका हुन् ।
कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा हिन्दु परम्पराअनुसार गरिमाको अन्त्येष्टि गरिएको हो । उनका बुवा मनोज चौधरीले दागबत्ती दिएका थिए ।
गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो । उनको हत्याको विरोधमा बुधबारदेखि बारा क्षेत्रमा सडक आन्दोलन र प्रदर्शन हुँदै आएको थियो ।
सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं पुगेका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौं फर्किएपछि प्रहरीले अस्पतालबाट शव बुझ्ने प्रक्रिया अघि बढाएको थियो ।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि हराएकी गरिमा भदौ २ गते सिमरा क्षेत्रमा मृत फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनीमाथि बलात्कारपछि हत्या भएको खुलेको छ ।
घटनामा संलग्न आरोपमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार सुमनले चकलेट दिएर बालिकालाई फकाउँदै घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेको र प्रोग्रेस उक्त म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ ।
गरिमाको परिवार र सरकारबीच शनिबार गृह मन्त्रालयमा भएको सहमतिअनुसार सिमरामा गरिमाको सालिक निर्माणका लागि पहल गर्ने तथा बालिका सुरक्षा र न्यायसँग सम्बन्धित कानुनी व्यवस्थाबारे सुझाव दिन ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने सहमति भएको छ ।
यसअघि बालिका हराएको जानकारी पाएपछि पनि प्रहरीले खोजतलासमा प्रभावकारी भूमिका नखेलेको भन्दै स्थानीयले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए । विरोधपछि इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको थियो । उनको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ ।
सरकारसँगको सहमतिपछि आन्दोलनरत पक्षले तत्कालका सडक संघर्षका कार्यक्रम स्थगित गर्दै गरिमाको न्यायका लागि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित