एक वर्षमा १० वर्षमुनिका २५० बालिका बलात्कारको सिकार, अधिकांश पीडक चिनेजानेकै

काठमाडौं । नेपालमा हरेक वर्ष औसतमा १० वर्षमुनिका करिब २५० बालिका बलात्कारको सिकार हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकअनुसार १० वर्षमुनिका बालिकामाथि हुने यस्ता अपराधको संख्या घट्दो क्रममा देखिए पनि अवस्था अझै गम्भीर छ।

आर्थिक वर्ष २०७८/७९ मा २६८, २०७९/८० मा २५९, २०८०/८१ मा २५२, २०८१/८२ मा २१७ र २०८२/८३ मा २२१ जना १० वर्षमुनिका बालिका बलात्कार पीडित भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

अझ चिन्ताजनक पक्ष, यस्ता घटनामा पीडक अधिकांश चिनेजानेकै व्यक्ति हुने प्रहरी अधिकारीहरूको भनाइ छ। बारा, मोरङ र रोल्पाका प्रतिनिधिमूलक घटनामा पनि पीडित र आरोपितबीच पूर्वचिनजान रहेको पाइएको छ। बालिकाहरू घर वरपर वा परिचित व्यक्तिहरूको सम्पर्कमा रहने भएकाले चिनेजानेकै व्यक्ति तथा आफन्तबाट जोखिम बढी हुने प्रहरीको बुझाइ छ।

समग्रमा पनि बलात्कारका घटनामा बालिकाहरू नै बढी पीडित हुने गरेका छन्। आर्थिक वर्ष २०८२र८३ मा मात्रै २ हजार ३९५ जना बलात्कार पीडित भएकोमा १ हजार ५१० जना १८ वर्षमुनिका बालिका थिए।

प्रहरी अधिकारीहरूले बालबालिका कहाँ जान्छन्, कोसँग घुलमिल हुन्छन् र उनीहरूको व्यवहारमा आएको परिवर्तनबारे अभिभावकले निरन्तर ध्यान दिनुपर्ने बताएका छन्। साथै, बालबालिकालाई उमेरअनुकूल यौन सुरक्षा तथा जोखिमबारे खुलेर शिक्षा दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

प्रतिक्रिया

ताजा समाचार