काठमाडौँ । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो ४ बजे बस्ने भएको छ। आज बेलुका ८ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसकेपछि भोलिका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार सोमबार जारी सूचनामा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची रहेकाले भोलिको बैठकलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बेलुका ८ बजेसम्म सारिए पनि अन्ततः सञ्चालन हुन सकेन।
विश्वासको मत दिने सत्ता साझेदार नेकपाका सात सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका छन्। मन्त्री बन्न नपाएको भन्दै असन्तुष्ट रहेका युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल र कृष्ण खनालसहित सात सांसद काठमाडौँमा रहेको बताइएको छ।
बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। तर, सरकार गठनमा समर्थन गरेका दुवै दलभित्र देखिएको आन्तरिक विवादले मुख्यमन्त्री थापाका लागि चुनौती थपिएको छ।
मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सबै सांसदले पक्षमा मतदान गरे पनि दुई मत अपुग हुने भएकाले राप्रपाका १२ सांसदमध्ये कम्तीमा नौ जनाको समर्थन आवश्यक पर्ने अवस्था छ।
राप्रपा केन्द्रले बागमती प्रदेशमा कुनै पक्षलाई समर्थन नगर्ने निर्णय गरे पनि संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको तर्फबाट सरकारलाई समर्थन जनाएपछि किरण थापा मुख्यमन्त्री बनेका हुन्। उक्त निर्णयविरुद्ध राप्रपा बागमती प्रदेशकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन्।
उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै भदौ १० गते छलफलका लागि बोलाएको छ। रिटको टुङ्गो नलागेसम्म विश्वासको मत लिन नमिल्ने अडान कांग्रेस र राप्रपा केन्द्रले राख्दै आएका छन्।
कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक पुकार महर्जनले पनि अदालतबाट अर्को आदेश नआएसम्म विश्वासको मत लिने कार्यसूची स्थगित गर्न सभामुखलाई पत्र दिएका छन्।
अब भोलि दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रक्रिया अघि बढ्छ कि फेरि अन्योल कायम रहन्छ भन्ने विषयमा चासो बढेको छ। नेकपाका सात सांसदको अनुपस्थिति र राप्रपाभित्र देखिएको विवादका कारण मुख्यमन्त्री थापाका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण देखिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित