रसुवा । भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो।
परियारले बाढीका कारण भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन नसकेको बताए। उनले भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु। के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन। बुझ्ने प्रयास भइरहेको छ।’
भोटेकोशी नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित