काठमाडौं । रसुवामा आएको भीषण बाढीले नेपाल प्रहरीका तीनवटा चौकीमा क्षति पुर्याएको छ। ३५ प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बुधबार बिहान ९ः१५ बजेको अद्यावधिक विवरणअनुसार रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र स्याफ्रुबेसीका प्रहरी सम्पर्कमा छैनन्। बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा समेत क्षति पुगेको छ।
टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन्। रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना र स्याफ्रुबेसीमा कार्यरत ९ जनामध्ये ४ जना सम्पर्कमा आएका छन्।
यस्तै, नुवाकोटको त्रिशूली बजारमा पानीको बहाव बढेको छ भने नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ। धादिङको पृथ्वी राजमार्गस्थित महेशखोलामा डुबान भएको छ।
उद्धारका लागि बागमती प्रदेश प्रहरी गुल्म हेटौंडाबाट एसएसपी पुरुषोत्तम सुवेदीको नेतृत्वमा १५ जनाको टोली बिहान १०ः५५ बजे रसुवातर्फ प्रस्थान गरेको छ।
बाढीको बहाव अहिले धादिङको गल्छी गाउँपालिका–२ मलेखु क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित