भोटेकोशी बाढी : गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार तामाङ सम्पर्कविहीन भएका छन्।

गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बुधबार बिहान बाढी आएलगत्तैदेखि दुवै जना सम्पर्कविहीन भएका हुन्। उनीहरूका मोबाइलमा सुरुमा सम्पर्क भए पनि अहिले फोन बन्द रहेको अध्यक्ष तामाङले बताए।

उपाध्यक्ष प्रतिमा तामाङ वडा नम्बर ५ स्याफ्रुबेसीकी हुन् भने वडाध्यक्ष दावा मिङ्मार तामाङ पनि सोही क्षेत्रका हुन्। गाउँपालिकाको वडा नम्बर २ अन्तर्गत रसुवागढी–टिमुरे क्षेत्रसमेत बाढीबाट अत्यन्त प्रभावित भएको छ।

अध्यक्ष तामाङका अनुसार वडा नम्बर २ र ५ का तटीय क्षेत्रमा रहेका सयौं स्थानीय बेपत्ता भएका छन्। उद्धार र खोजीमा व्यस्त रहेकाले अहिलेसम्म बेपत्ता भएकाहरूको यकिन संख्या संकलन गर्न नसकिएको उनले बताए।

बाढीले गोसाईंकुण्ड गाउँपालिकाको भवनसमेत बगाएको छ। तटीय क्षेत्रमा रहेका अधिकांश घरहरू बाढीले बगाएको अध्यक्ष तामाङले जानकारी दिए।

‘मानवीय र भौतिक क्षति अकल्पनीय छ। यो क्षति पूर्ति गर्न यो पुस्ताले पनि नसक्ने अवस्था देखिएको छ,’ अध्यक्ष तामाङले भने।

उनले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि केन्द्र सरकारबाट पर्याप्त पहल नभएको गुनासोसमेत गरेका छन्। केही हेलिकोप्टर उडे पनि सरकारको गम्भीरता र उद्धार प्रयास पर्याप्त नदेखिएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार