काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा भएको जनधनको क्षति व्यवस्थापन तथा उद्धार कार्यमा काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको हो।
बैठकले विपद् प्रतिकार्य, समन्वय तथा सहजीकरणका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी तोकेको छ।
महानगरपालिकाले सञ्चालन गरेका चारवटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइसकेको छ भने थप दुईवटा एम्बुलेन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको जनाएको छ।
त्यस्तै, महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय भएको छ। घाइते तथा बिरामीका लागि आवश्यक औषधिसमेत उपलब्ध गराइनेछ।
महानगरपालिकाको आपत्कालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापन सामग्री आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मौज्दात सामग्री तथा औषधि अपुग भए विपद् व्यवस्थापन कोषबाट खरिद गरी तत्काल उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।
महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि आवश्यक सहयोग र समन्वयलाई थप प्रभावकारी बनाउने जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित