काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ (ग्याइरोङ) सीमा क्षेत्रमा भएको प्राकृतिक विपत्तिबारे नेपालमा फैलिएका केही सूचनालाई ‘भ्रामक’ र ‘फेक न्यूज’ भन्दै खण्डन गरेको छ।
दूतावासले विशेष पोस्टमार्फत चीनतर्फको बाँध (ड्याम) भत्किँदा नेपालतर्फ क्षति पुगेको तथा चीनले त्यसबारे पूर्वसूचना नदिएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको हो।
दूतावासका अनुसार अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तै शक्तिशाली हिमपहिरो (ग्ल्यासियर कोल्याप्स) गएको थियो। त्यसबाट सिर्जित ठूलो लेदोसहितको पहिरोका कारण रसुवागढी–केरुङ सीमा क्षेत्रका दुवैतर्फ ठूलो जनधनको क्षति भएको दूतावासले जनाएको छ।
प्राकृतिक विपत्तिमा परी नेपाल र चीन दुवैतर्फका नागरिक हताहत भएको तथा केही व्यक्ति अझै बेपत्ता रहेको दूतावासको भनाइ छ।
दूतावासले विपद्को यस्तो घडीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा सहकार्य र उद्धारमा ध्यान दिनुपर्नेमा जोड दिएको छ। ‘आरोपले केही मद्दत गर्दैन, सहकार्यले ज्यान बचाउँछ,’ दूतावासले आफ्नो पोस्टमा उल्लेख गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित