थप अर्को जोखिमकाे चेतावनी, छोचेन–पुरेपु दोभानमा बनेको विशाल ताल फुट्न सक्ने !

तस्बिर : AI

यो AI ले बनाएको कृत्रिम फोटो हो ।

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अर्को सम्भावित जोखिम देखिएको छ। नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल नजिकै पहिरोले नदी थुनेर ठूलो जलाशय बनेपछि चिनियाँ अधिकारीहरूले त्यसलाई उच्च जोखिमका रूपमा निगरानी गरिरहेका छन्।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबारसम्म उक्त जलाशयमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। आगामी केही दिनमा पानीको मात्रा थप बढ्ने अनुमान गरिएको छ। जलाशयको प्राकृतिक बाँध कमजोर भए अचानक फुट्न सक्ने भएकाले सम्भावित बाढीको प्रभावबारे अध्ययन भइरहेको छ।

यसअघि नेपालतर्फबाट आएको लेदोसहितको ठूलो पहिरोले सीमा क्षेत्रमा नदीको बहाव प्रभावित बनाउँदै चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित जिरोङ क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको थियो। उक्त घटनामा नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार जिरोङ क्षेत्रमा ५५८ जना अझै बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरूबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार तथा खोजी कार्य जारी छ।

सम्भावित दोस्रो विपद्लाई रोक्न चिनियाँ जलस्रोत अधिकारीहरूले जलाशयको अवस्था निरन्तर मापन र विश्लेषण गरिरहेका छन्। बाढीको सम्भावित प्रभाव आकलन गर्न सिमुलेसनसमेत भइरहेको जनाइएको छ।

यसैबीच चीनले बेइजिङ र छेङ्दुबाट अग्नि तथा उद्धार टोली परिचालन गरेको छ। स्थानीय प्रहरी, सशस्त्र सुरक्षा निकाय र अन्य उद्धार संयन्त्रसँग समन्वय गर्दै खोज तथा राहत कार्य अघि बढाइएको छ।

नेपाल–चीन सीमाक्षेत्रमा लगातार वर्षा, पहिरो र कमजोर भौगोलिक संरचनाका कारण थप विपद्को जोखिम कायमै रहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता आवश्यक देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार