काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आजदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठले जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि छुट्टै हेलिकप्टर परिचालन गर्न लागिएको जानकारी दिए।
उनका अनुसार हेलिकप्टर परिचालनका लागि आवश्यक समन्वय भइरहेको छ। ‘आजदेखि एउटा डेडिकेटेड हेलिकप्टर उडाउने तयारी गरिरहेका छौँ। यसका लागि समन्वय भइरहेको छ। जलविद्युत् आयोजनाका कर्मचारीसँगै त्यहाँ कोही स्थानीय भए उनीहरूको पनि उद्धार गर्नेछौँ,’ उनले भने।
कतिपय जलविद्युत् आयोजनाका सुरुङमा प्रवेश गर्ने स्थानमा माटो तथा गेग्रान थुप्रिएको जनाउँदै श्रेष्ठले प्रभावित आयोजनाका सुरुङमा डोजर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई प्राधिकरणले तीव्रता दिएको छ। उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहितको टोली आज काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइएको छ।
विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका साथै शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित