काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवास्थित भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अन्य व्यक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरेकी छन्।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।’
यसैबीच, चीनबाट ड्याम पुनः फुटेको सूचना प्राप्त भएको भन्दै नेपाल प्रहरीले समेत भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित