पहिरोले बनेको ‘ब्यारियर लेक’मा बढ्यो जोखिम, निगरानी बढाउन राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार प्रयासका क्रममा पहिरोका कारण बनेको अवरोध ताल (ब्यारियर लेक) मा विशेष निगरानी राख्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का वरिष्ठ नेताहरूको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले यस्तो निर्देशन दिएका हुन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको बैठकको विवरणमा भनिएको छ, ‘पहिरोका कारण बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी राख्नुपर्छ र थप विपद् हुन नदिन प्रभावकारी उपायहरू कडाइका साथ अपनाउनुपर्छ।’

यो निर्देशन बैठक सकिएपछि तालले बाँध नाघेर पानी बग्न थालेको पछिल्लो विवरण सार्वजनिक हुनुअघि दिइएको थियो।

बुधबार आएको ठूलो बाढीपछि बनेको उक्त अवरोध तालमा पानी भरिएर ओभरफ्लो हुन थालेपछि थप पहिरो तथा बाढीको जोखिम बढेको छ। यसले जीवित व्यक्तिको खोजी तथा उद्धार कार्यलाई समेत थप चुनौतीपूर्ण बनाएको छ।

सिन्ह्वाका अनुसार राष्ट्रपति सीले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बैठकमा सहभागी सबैलाई एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए।

बैठकको विवरणमा उक्त विपद् उच्च हिमाली तथा चिसो क्षेत्रमा, भिरालो उपत्यका र परिवर्तनशील मौसमका बीच भएको उल्लेख गरिएको छ। आसपासमा धेरै हिमनदी, हिमताल तथा अन्य भौगर्भिक जोखिम रहेकाले उद्धार तथा राहत कार्य निकै कठिन बनेको बताइएको छ।

चीनले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार तिब्बततर्फ ३ जनाको मृत्यु भएको र ५५८ जना अझै बेपत्ता रहेका छन्।

यसैबीच, बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालतर्फ १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको बताएका थिए।

बुधबार नेपाल–तिब्बत सीमामा आएको विनाशकारी बाढीका कारण नेपालमा हालसम्म ४८९ जनाको मृत्यु पुष्टि भइसकेको छ।

प्रतिक्रिया

ताजा समाचार