काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य निरन्तर जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको जलसतह बढेसँगै आयोजनाको आसपासको क्षेत्रमा तीव्र कटानसमेत भइरहेको छ।
बाढीको जोखिम कायमै रहेकाले सरकारले थप क्षति हुन नदिन उच्च सतर्कता अपनाउँदै आयोजनाको समग्र अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
बाढी तथा पहिरोका कारण आयोजनाको क्षेत्रमा थुप्रिएको माटो र लेदो हटाउन डोजर तथा अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको छ।
यसैबीच, पहिरो र लेदोले पुरिएको त्रिशूली ‘३ ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारीसमेत गरिएको छ।
टनेल पोर्टल र पावर हाउसको निगरानी तथा नियन्त्रणका लागि प्रयोग हुने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्स माटो र लेदोमा पुरिएका छन्। ती उपकरण निकाल्न सडक पहुँच अवरुद्ध रहेकाले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’सहितको प्राविधिक टोली घटनास्थलमा उतार्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै आयोजना क्षेत्रमा उद्धार, क्षति आकलन तथा महत्वपूर्ण संरचना र उपकरणको सुरक्षाका लागि आवश्यक सबै काम उच्च सतर्कताका साथ अघि बढाइएको सरकारले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित