६ दिनदेखि आफन्त सम्पर्कविहीन, अवस्था बुझ्न हेलिकप्टरमा आयोजनास्थल पुगे परिवारजन

काठमाडौं । अपर त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) मा ६ दिनदेखि फसेका कामदार, प्राविधिक तथा कर्मचारीका आफन्त हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ गएका छन् ।

फसेकाहरूको तत्काल उद्धारको माग गर्दै परिवारजनले थापाथलीस्थित प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा निरन्तर दबाब दिएपछि आज हेलिकप्टर पठाइएको हो ।

आयोजना प्रतिनिधि र पीडितका आफन्तबीच भएको छलफलमा आज हेलिकप्टरसहित उद्धार टोली पठाउने सहमति भएको थियो । सोही सहमतिअनुसार कम्पनीको खर्चमा सरकारसँग समन्वय गरी हेलिकप्टर आयोजनास्थलतर्फ पठाइएको हो ।

हेलिकप्टरमार्फत गएका बेपत्ताका आफन्तले आयोजनास्थलमा भइरहेको खोज तथा उद्धारको अवस्था र त्यहाँको वास्तविक अवस्थाबारे जानकारी लिनेछन् । बेपत्ता इन्जिनियर सचिन गौतमकी बहिनी अनुपा सापकोटाले आफन्तहरू त्यहाँको वस्तुस्थिति बुझ्न गएको बताइन् ।

हालसम्म आयोजनास्थल र आसपासका क्षेत्रबाट २५४ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । तर, अझै ५७६ जनाभन्दा बढी सम्पर्कविहीन रहेको आफन्तहरूले बताएका छन् ।

यतिका दिनसम्म उद्धार टोली आयोजनास्थलमा पुग्न नसकेको भन्दै पीडितका आफन्तहरू आक्रोशित बनेका छन् । खाना र पानीसमेत नपाएर भीर तथा सुरुङभित्र फसेकाहरूको ज्यान जोखिममा परेको भन्दै उनीहरूले तत्काल उद्धार गर्न माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार