काठमाडौं । चीन र नेपालका विज्ञ तथा सम्बन्धित सरकारी निकायले गरेको अध्ययनबाट नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि पहिरो गएको निष्कर्ष निकालिएको चीनले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीन–नेपाल सीमावर्ती बन्दरगाह क्षेत्रमा हालै गएको विनाशकारी पहिरोको कारणबारे केही विदेशी सञ्चारमाध्यमले गरेको टिप्पणीको जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनका अनुसार चीन र नेपालका विज्ञ तथा सम्बन्धित संस्थाहरूले विपद्को कारणबारे अध्ययन तथा मूल्याङ्कन गरेका थिए । त्यसक्रममा नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि पहिरो गएको निष्कर्ष निकालिएको हो ।
ठूला विपद्का बेला तथ्यमा आधारित नभएका दुर्भावनापूर्ण अड्कलबाजीको चीनले दृढतापूर्वक विरोध गर्ने गुओले बताए ।
विपद्पछि चिनियाँ सरकारले नेपाललाई आपत्कालीन नगद सहायता तथा मानवीय सहयोग उपलब्ध गराएको उनले जानकारी दिए । चीनले पहिलो चरणमा पठाएको ५० टन राहत सामग्री काठमाडौं आइपुगेको पनि उनले बताए ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न चीनले सुरुङ उद्धार विशेषज्ञका दुई टोलीसमेत नेपाल पठाएको जनाएको छ । साथै, प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्याङ्क नेपालसँग आदानप्रदान गरिएको गुओले बताए ।
माथिल्लो क्षेत्रमा बनेका अवरोध तालबारेको पूर्वसूचनासमेत नेपाललाई उपलब्ध गराइएको उनले जानकारी दिए ।
यसैबीच, चीनले नेपालमा अलपत्र परेका नेपाली नागरिकलाई यथाशीघ्र स्वदेश फर्काउन सक्रिय रूपमा सहयोग गरिरहेको जनाएको छ ।
गुओका अनुसार आइतबार दिउँसोसम्म विपद्प्रभावित क्षेत्रमा सम्पर्कमा आएका सबै चिनियाँ नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ ।
यद्यपि, विपद्पछि अझै सम्पर्कविहीन रहेका चिनियाँ तथा अन्य विदेशी नागरिकको खोजी तथा उद्धारका लागि चीनले सबै प्रयास जारी राखेको गुओले बताए ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित