हेटौँडा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न असहज अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले त्रिशूली नदीमा तुइन निर्माण सुरु गरेको छ ।
बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा राहत तथा उद्धारमा समस्या भएपछि प्रदेश सरकारले तुइन निर्माण अघि बढाएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरका अनुसार भोटेकोशीको बाढीले प्रभावित क्षेत्रमा ५ देखि ६ फिटसम्म हिलो र लेदो जमेको छ । त्यसका कारण पैदल आवतजावत गर्नसमेत कठिन भएको र प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री तथा राहत पुर्याउन चुनौती थपिएको उनले बताएका छन् ।
यस्तो विषम परिस्थितिमा नागरिकको जीवनरक्षा तथा अत्यावश्यक सेवा प्रवाहलाई निरन्तरता दिन विदुर र त्रिशूली जोड्ने गरी त्रिशूली नदीमा तुइन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको मुख्यमन्त्री थापामगरले जानकारी दिएका छन् ।
‘सम्भवतः भोलिसम्म सञ्चालनमा आउने यस तुइनमार्फत राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गरिनेछ,’ मुख्यमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘यसबाट गर्भवती महिला, घाइते तथा अन्य आपत्कालीन अवस्थाका नागरिकको उद्धारमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
प्रदेश सरकारले अन्य प्रभावित क्षेत्रमा समेत उद्धार तथा पुनःस्थापनाका कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित