जापानी प्रधानमन्त्री ताकाइचीद्वारा बालेनसँग फोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग फोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

ताकाइचीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग अपराह्न ४ः१५ बजे फोनमा कुराकानी भएको जानकारी दिएकी हुन्।

कुराकानीका क्रममा उनले बाढीमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकका परिवार तथा विपद्बाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेकी छन्।

‘मेरो तर्फबाट मैले नेपालमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेँ। साथै, मृतकका परिवार तथा विपद्बाट प्रभावित सबैप्रति हार्दिक सहानुभूति प्रकट गरेँ,’ उनले एक्समा लेखेकी छन्।

जापानमा पनि कुमामोतो भूकम्प तथा अभूतपूर्व भारी वर्षाका कारण विभिन्न स्थानमा लगातार विपद् आएको स्मरण गर्दै ताकाइचीले नेपालले अहिले भोगिरहेको कठिनाइप्रति दुःख व्यक्त गरेकी छन्।

‘जापानमा पनि कुमामोतो भूकम्प र कीर्तिमानी भारी वर्षाका कारण विभिन्न स्थानमा एकपछि अर्को विपद् आएको र धेरै मानिस प्रभावित भएको अवस्थामा, जापानजस्तै नेपाल पनि बारम्बार प्राकृतिक विपद्को सामना गर्ने देश भएकाले नेपालले अहिले भोगिरहेको कठिनाइप्रति मेरो मन दुःखी भएको कुरा मैले प्रधानमन्त्री शाहलाई बताएँ,’ उनले उल्लेख गरेकी छन्।

ताकाइचीले बाढीपछि सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको शीघ्र खोजी तथा उद्धारका लागि नेपाल सरकारसँग पुनः आग्रह गरेकी छन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको बताएको ताकाइचीले जानकारी दिएकी छन्।

जापान सरकारले पनि आफ्ना नागरिकको अवस्था पत्ता लगाउन उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको उनले बताएकी छन्।

नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै जापानले विपद्बाट प्रभावित नेपालीलाई पाल, कम्बललगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराउने ताकाइचीले जानकारी दिएकी छन्।

‘नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै, विपद्बाट प्रभावित नेपालीलाई सहयोग गर्न पाल, कम्बललगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराउने जानकारी पनि मैले दिएँ,’ उनले भनेकी छन्।

उनका अनुसार ती सामग्री जापानभित्रका विपद् व्यवस्थापनका लागि राखिएको भण्डारबाट नभई विदेशमा आपत्कालीन सहायता उपलब्ध गराउन जापान सरकारले छुट्टै राखेको भण्डारबाट उपलब्ध गराइनेछ।

ताकाइचीले एसियाली मित्रका रूपमा नेपाललाई जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। उनका अनुसार जापानले अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग तथा अन्तर्राष्ट्रिय आपत्कालीन सहायता टोली नेपाल पठाउनेलगायतका उपायबाट थप सहयोग गर्न तयारी गरिरहेको छ।

‘एसियाको एक मित्रका रूपमा नेपालले अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग तथा अन्तर्राष्ट्रिय आपत्कालीन सहायता टोली पठाउनेलगायतका उपायमार्फत निरन्तर सहयोगका लागि जापान तयार रहने अपेक्षा गर्न सक्छ,’ उनले लेखेकी छन्।

ताकाइचीले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ पनि मंगलबार परेको उल्लेख गरेकी छन्। उनले प्रधानमन्त्री शाहसँग मिलेर आगामी दिनमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

गत बुधबार नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म बाढीमा मृत्यु हुनेको संख्या एक हजार नाघिसकेको छ भने धेरै मानिस अझै बेपत्ता छन्।

प्रतिक्रिया

ताजा समाचार