रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौँ, १८ भदौः भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने स्म्भावना छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान माहाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । विभागले वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार