

काठमाडौं । रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव भेटिएको छ ।
आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा आज दुई जनाको शव फेला पारेको हो । शवको पहिचान भने हुन बाँकी रहेको उनले जानकारी दिए ।
सेनाको टोलीले सुरुङभित्र खोजी तथा उद्धार कार्य जारी राखेको छ । बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले बताए ।
उनका अनुसार आयोजनामा बाढी आउनुअघि नै विद्युत् प्रवाह बन्द भइसकेकाले अधिकांश कामदार बाहिर निस्किसकेको अनुमान गरिएको छ । सुरुङभित्र करिब १५ जना कामदार रहेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक संख्या खोजी कार्य सकिएपछि मात्र यकिन हुने उनले बताए ।
आयोजनाका कुल ६० कर्मचारी तथा कामदारमध्ये १९ जना सम्पर्कमा आइसकेका छन् भने बाँकी ३९ जना अझै बेपत्ता रहेको आयोजना प्रशासनले जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित