काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंका गरिएको छ । उनीहरूको उद्धारका निम्ति चिलिमेका सीईओ बाबुराजा महर्जनसहितको टोली खटिएको नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए ।
“हामीले समन्वय मात्र गर्ने हो, बाँकी कम्पनी (चिलिमे जलविद्युत् आयोजना)को टोली लागिपरेको छ,” उनले भने, “कन्ट्रोल रुममा ६ जना फसेको भन्ने अनुमान छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सुरुङविद् श्रीराम न्यौपानेले पनि चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
यसबारे जानकारी लिन र आवश्यक परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिन आफू त्यसतर्फ जाँदै गरेको समेत उनले बताएका छन् ।
“उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु,” उनले लेखेका छन् ।
यही भदौ १० गते भोटेकोसी नदीमा आएको हिमबाढीले चिलिमे जलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित