ठमेलको ‘ब्याड टच’ प्रकरण : दाह्री–कपाल काटेर भाग्दै गरेका शालीन साह कलंकीबाट पक्राउ

काठमाडौं । ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि फरार रहेका शालीन साहलाई प्रहरीले शनिबार कलंकीबाट पक्राउ गरेको छ।

भाइरल भिडियोमा देखिएको घटना भदौ १८ गतेको रहेको प्रहरीले जनाएको छ। भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाएसँगै प्रहरीले साहको खोजी गरिरहेको थियो। लामो कपाल तथा दाह्री–जुँगा काटेर आफ्नो रूप परिवर्तन गरेका साह कलंकीस्थित तासिनडोलबाट भाग्ने प्रयास गरिरहेका बेला पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ३० वर्षीय साह तराई मूलका हुन्। घटनामा पीडित भनिएकी युवती पनि नेपाली नागरिक रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा मुद्दा चलाउने प्रयोजनका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ।

घटना ठमेल क्षेत्रमा भएको र उक्त क्षेत्र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को कार्यक्षेत्रमा पर्ने भएकाले घटनाबारे थप अनुसन्धान सोही वृत्तबाट अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार