
काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये बुधबार ८१ जनाको जीवित उद्धार गरेको छ। यससँगै सेनाको हवाई खोज तथा उद्धारबाट जीवित उद्धार हुनेको संख्या ४ हजार ८१ पुगेको छ।
सेनाका अनुसार रसुवागढी, भोटेकोशी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका टनेल तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार जारी छ।
भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा करिब ५० मिटरभित्र खोजी गर्दा एउटा शव फेला परेको छ। अन्य आयोजनाका टनेलमा समेत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। केही स्थानमा ड्रोन तथा हेभी इक्विपमेन्टसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।
यसैबीच, नुवाकोटको विदुर–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माणको काम तीव्र बनाएको छ। प्रभावित क्षेत्रका रसुवा र नुवाकोटका विभिन्न स्थानमा पैदल गस्तीमार्फत पनि खोजी भइरहेको छ।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ८ हजार ८ सयभन्दा बढी सैनिक उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा खटिएका छन्।
त्रिशूली र धुञ्चेमा सेनाले सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार २४ जनाले स्वास्थ्य सेवा लिएका छन्। ती केन्द्रबाट हालसम्म ३ हजार ५५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित