चाडपर्वअघि महँगी र ग्यास अभाव नियन्त्रण गर्न सांसदहरूको सरकारसँग माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा सांसद वदनकुमार भण्डारी र प्रकाशचन्द्र परियारले चाडपर्व नजिकिँदै गर्दा ग्यास, तेल, चिनी, दाल र चामललगायत अत्यावश्यक वस्तुको मूल्य बढेको भन्दै आपूर्ति व्यवस्था सहज बनाउन माग गरे। उनीहरूले बजार अनुगमन प्रभावकारी बनाउन र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पनि आग्रह गरे।

बैठकमा बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको विषयसमेत प्राथमिकताका साथ उठ्यो। सांसद जगदीश खरेलले राहत कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरे। सांसद तारा विश्वकर्माले भोटेकोशी बाढीबाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद दीपकराज बोहराले रसुवा बाढीमा कञ्चनपुरका २६ जना बेपत्ता भएको भन्दै खोजी कार्य तीव्र बनाउन माग गरे। पुकार बमले राहत तथा क्षतिपूर्ति वितरणमा देखिएको प्रशासनिक झन्झट हटाउन र नरेन्द्रकुमार गुप्ताले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरे। सांसद नितिमा भण्डारी कार्कीले बाढीमा बेपत्ता भएका पेसाकर्मीका परिवारका योग्य सदस्यलाई रोजगारी तथा सामाजिक सुरक्षा उपलब्ध गराउन माग गरिन्।

स्वास्थ्य र शिक्षासम्बन्धी विषयमा सांसद टुकाभद्रा हमालले नागरिकको जीवनभन्दा अस्पतालको उपचार खर्च ठूलो हुने अवस्था अन्त्य गर्न माग गरिन्। सांसद झविलाल डुम्रेले स्याङ्जाको वालिङमा निर्माण भएको ५० शय्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

सांसद धनबहादुर बुढाले डोल्पालगायत हिमाली क्षेत्रको शैक्षिक क्यालेन्डर परिमार्जन गरी मंसिरभित्रै शैक्षिक सत्र सक्ने व्यवस्था गर्न सुझाव दिए। ताहिर अलि भाटले आइतबारको सार्वजनिक बिदाले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे पुनर्विचार गर्न आग्रह गरे।

सांसद देवराज पाठकले दाङको भालुवाङमा सशस्त्र प्रहरीले कब्जा गरेको १७ परिवारको जग्गा क्षतिपूर्तिसहित फिर्ता गर्न माग गरे। निश्कल राईले इलामका चिया बगानमा रासायनिक मल तथा विषादीको प्रयोग रोक्न र पवित्रा विकले बागवानी केन्द्रलगायतका १ हजार ५ सयभन्दा बढी कृषि प्राविधिकको दरबन्दी कटौती गर्ने निर्णय फिर्ता लिन माग गरिन्।

यसैगरी, सांसद जगतप्रसाद जोशीले भारतीय सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। निनुकुमारी कर्णले जेनजी आन्दोलनका क्रममा महेन्द्रनारायण निधिको घरमा आगजनी गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न र चन्द्रमोहन यादवले नागरिकलाई त्रसित बनाउने गतिविधि रोक्न माग गरे।

सांसद निराशा चौधरी डगौराले करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, ठाकुरसिंह थारूले वैदेशिक रोजगारीका समस्या समाधान गर्न, धर्मराज केसीले विपद्पछि प्राप्त वैदेशिक सहयोगको तेस्रो पक्षबाट लेखापरीक्षण गराउन र नरेन्द्रकुमार केरुङले गुम्बा विकास समिति खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरे।

त्यस्तै, सांसद जनकसिंह धामीले कञ्चनपुरका अलपत्र सडक आयोजना सम्पन्न गर्न, प्रेमबहादुर बयकले सर्वसुलभ शिक्षा तथा स्वास्थ्यको जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद पूर्णप्रसाद लिम्बू, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रदीप विष्ट, प्रमिला कुलुज, प्रमेशकुमार हमाल र प्रेमलाल चौधरीले पनि विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

ताजा समाचार