
अब एटिएमबाट एक सय रुपैयाँ दरका नोट पनि निकाल्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट एक सय रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गर्न लागेको हो।
राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठका अनुसार नजिकिँदो दसैंमा नयाँ तथा सुकिला नोटका लागि बैंकमा हुने भीड कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
राष्ट्र बैंकले केही वर्षयता दसैंमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरूले साना दरका सुकिला नोट एटिएमबाटै निकाल्न सकिने व्यवस्था गर्न सुझाव दिएका थिए।
हाल अधिकांश एटिएमबाट पाँच सय र एक हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था छ। तर, सबै एटिएमबाट एक सय रुपैयाँका नोट निकाल्न सकिने छैन।
परम्परागत प्रविधिका एटिएममा दुईवटा दरका नोट मात्र राख्न मिल्ने भएकाले सीमित एटिएमबाट मात्रै एक सय रुपैयाँका नोट निकाल्न सकिने राष्ट्र बैंकले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित