बझाङमा जिउँदो कुकुरलाई सेती नदीमा फालेको आरोपमा महिला पक्राउ

कैलाली । बझाङमा जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरिएको हो। उनलाई जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले रोकायालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार उक्त कुकुर करिब दुई सातादेखि बिरामी थियो। कुकुरको शरीरको पछाडिको भाग पाकेको र त्यसबाट दुर्गन्ध आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कुकुरले घरनजिकको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि रोकायाले पानकोट पुलबाट सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार