
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन्।
पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट अब देशको राजनीति अघि बढ्ने अवस्था नरहेको निष्कर्षसहित आफूहरू पार्टीबाट अलग भएको उनीहरूले बताएका छन्।
पार्टी परित्याग गर्नेहरूमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
पार्टी परित्यागको कारणबारे महासचिव झाले भने, “हाम्रो मातृभूमिलाई सुहाउने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने अर्थ–राजनीतिको सहारा लिएर अघि बढ्नुपर्छ। यसका लागि सामाजिक–सांस्कृतिक चेतनाको विकासका निम्ति अभियानलाई निरन्तरता दिँदै, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिइरहेका छौं। साथै, आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्दैछौं।”
उनले विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि अबको यात्रा ‘हुंकार मधेश अभियान’सँग हुने बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित