लाइसेन्स छपाइमा नयाँ प्रविधि, ईडीएल भिआरएस लागू

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्न नयाँ प्रविधि अपनाएको हो।

नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने प्रक्रियालाई थप द्रुत, सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

ईडीएल भिआरएसमा प्रविष्ट गरिएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने व्यवस्था गरिएको छ। केन्द्रमा लाइसेन्स छपाइ भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइनेछ।

यस व्यवस्थाले विगत लामो समयदेखि लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ कम हुने विभागको अपेक्षा छ।

नयाँ प्रविधिको सुरुवात गर्दै पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्नेछन्। सोही प्रावधानअनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ अघि बढाएको छ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी लाइसेन्स छपाइ प्रक्रिया अघि बढाउने भएको छ।

प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको प्रत्यक्ष समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको विभागका अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार