
काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार भएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा ९ वटा स्थानीय तह र साझा यातायातको सहकार्यमा ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो।
यसअघि काठमाडौं महानगरपालिकाको नेतृत्वमा वैशाख १ गतेदेखि दुईवटा रुटमा परीक्षणका रूपमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो। परीक्षण सेवाको प्रभावकारिता मूल्याङ्कनपछि सेवा विस्तार गर्दै स्थानीय तहहरू आर्थिक दायित्वसमेत वहन गर्ने गरी कार्यक्रममा जोडिएका हुन्।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो।
संविधान दिवसका अवसरमा काठमाडौं र ललितपुर महानगरपालिकासहित बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीपत्रमा हस्ताक्षरपछि ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन बस सेवालाई अब नियमित र दिगो रूपमा सञ्चालन गर्ने गरी स्थानीय तहबीच सहकार्य गरिएको बताइन्।
‘विगतमा अभ्यास गरियो, बन्द भयो, यसपटक के होला ?’ भन्ने सेवाग्राहीको चिन्ताबारे उनले भनिन्, ‘परीक्षण कालमा अभ्यास गरिएको दुईवटा रुटमा चारवटा थपेका छौँ। सातवटा गाडीलाई ३० वटामा पुर्याएका छौँ। चारवटा नगरपालिकाको सहकार्यमा ९ वटा पुगेका छौँ। यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ। अब यो सेवा रोकिँदैन। निरन्तर चल्छ। दिगो चल्छ।’
डंगोलले संविधान र कानुनले स्थानीय तहलाई दिएको अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्नुपर्ने बताइन्। प्रशासनिक सीमाभन्दा नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर सार्वजनिक सेवा विस्तार गर्न स्थानीय तहहरूबीच सहकार्य गरिएको उनको भनाइ छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको सार्वजनिक यातायात सहज बनाउन संघीय सरकारबाट मेट्रो सञ्चालनको योजना आउनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त पहल नभएको बताए।
‘मेट्रो नभएपछि बीआरटी (बस र्यापिड ट्रान्जिट) हुनुपर्थ्यो। त्यसको पनि केही संकेत छैन। संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन। यसकारण स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ,’ उनले भने।
उनले रात्रिकालीन बस सेवालाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने बताए।
साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहको सहकार्य प्राप्त हुनु साझा यातायातका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
विस्तारित सेवाअन्तर्गत ६ वटा रुटमा ३० वटा बस सञ्चालन हुनेछन्।
यसअघि लगनखेल–बूढानीलकण्ठ तथा नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमुना सेवा सञ्चालन हुँदै आएको थियो।
सेवाको प्रभावकारिता, मूल्याङ्कन तथा लाभ–लागत विश्लेषणपछि नाफा–घाटाभन्दा नागरिकलाई सेवा दिनु महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको साझा यातायातले जनाएको छ।
रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा बेहोर्ने सहमति भएको छ।
बाँकी ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तहको जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९–९ प्रतिशतका दरले बेहोर्ने समझदारी भएको छ।
सेवा सञ्चालनका लागि रकम अपुग भएमा साझा यातायातले त्रैमासिक रूपमा रकम माग गर्नेछ।
रुटमा यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ।
यस्तै, निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित स्थानीय तहले लिनेछन्।
रात्रिकालीन सेवा प्रभावकारी बनाउन स्थानीय तहले नियमित अनुगमन गर्ने तथा सेवा सुधारका लागि साझा यातायातलाई आवश्यक सुझाव दिने व्यवस्था पनि गरिएको छ।
सम्झौताको कार्यान्वयनबारे कम्तीमा त्रैमासिक रूपमा प्रगति समीक्षा बैठक बस्ने र साझा यातायातले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने व्यवस्था गरिएको छ।
चक्रपथमा रात्रिकालीन सेवा सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गरेर सेवाले समेटेका अन्य क्षेत्रमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।
टिकटबाट हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत विकास गरेको छ। यात्रुले क्यूआर कोड वा नगदमार्फत टिकट लिन सक्नेछन्।
साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित